जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिले बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको प्रहरीले पुस्टि गरेको छ भने सामाजिक संजालहरुको अनुसार १३१ को मृत्यु भएको बताइएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाईते भएका छन् । ‘उद्धार कार्य भइरहेको छ, मृतकको संख्या बढनसक्ने देखिएको छ, ‘डीआईजी कडायतले पर्दाफाससँग भने, ‘हाम्रो मेडिकल टिम तयारी अवस्थामा छ, सेना र सशस्त्रका नजिकका युनिट समेत सक्रिय भएका छन् ।’ राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको थियाे ।