दाङ, लुम्बिनी प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि २५ जना चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाएको छ । भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा २० चिकित्सक, औषधि र उपचार सामग्रीसहित प्रभावित जिल्लातर्फ प्रस्थान गरिसकेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार प्रादेशिक अस्पताल बुटवलका एमडी जिपी डा सुनिल सुनारको नेतृत्वमा पाँचजनाको टोली औैषधी तथा उपचार सामग्रीसहित प्रस्थान गरेको छ ।
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँगको समन्वयमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए ।
प्रदेशका सरकारका तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । यसअघि आज बिहान दाङबाट भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारका लागि सशस्त्र प्रहरीको एक टोली पश्चिम रुकुमका लागि प्रस्थान गरिसकेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको हो । भूकम्पपीडितहरुका लागि जिल्लाबाट खाद्यान्नलगायत सामग्री आज नै पठाउने तयारी गरिरहेको उनले जानकारी दिए।
गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमा ठूलो धनजनको क्षति भएको छ ।
यसैबीच, दाङ पनि भूकम्प ठ्ूलो झड्का महसुस गरिएको थियो । मध्यरातमा भूकम्प आएपछि यहाँका नागरिकहरु धेरै सङ्ख्यामा घरबाहिर निस्केका थिए । भूकम्पबाट जिल्लामा कुनै ठूलो क्षति नभए पनि बङ्गलाचुली गाउँपालिका केही घरमा सामान्य क्षति भएको प्रजिअ सुवेदीले जानकारी दिए ।रासस