विराटनगर, वैशाख ३१
कोरोना भाइरस (कोभिड–१९) को महामारी खेपिरहेका बेला विराटनगर महानगरपालिकासहित मोरङका ग्रामीण बजारका व्यवसायीबाट कालोबजारी गरेको जनगुनासो बढे पनि सरकारको अनुगमन अत्यन्तै कमजोर भएको पाइएको छ । अहिले महानगरपालिका क्षेत्रभित्र नै म्याद गुज्रेका खाद्यान्न तथा अनुमतिविना बिक्री वितरणका लागि राखिएका गुट्का खैनीलगायतका सामग्री खुलेआम भारतबाट नेपाल भित्रिरहेको पाइएको हो ।
कोभिड १९ का कारण नेपाल भारत आवागमन नै बन्द भएको अवस्थामा समेत खुला सिमानाको फाइदा उठाउँदै व्यवसायीहरूले भारतबाट घरेलु राइसमिलमा उत्पादन गरिएको खाने तेलदेखि म्याद नाघेका खाद्य सामग्री र सुर्तिजन्य पदार्थ खैनी, गुट्कालगायतका सामग्री निर्बाधरूपमा नेपाल भित्र्याएर बजारमा खुलेआम बिक्री वितरण भइरहेको जनगुनासो बढ्न थालेको छ । तर, बजार अनुगमन गर्ने सरकारको निकाय महानगरपालिकाले उपमेयर इन्द्रिरा (इन्दु) कार्कीको संयोजकत्वमा बजार अगुमन गर्ने गरेको भए पनि कारबाही गर्न नसक्दा व्यापारीको मनोवल बढ्न पुगेको स्थानीय बासिन्दाको आरोप छ ।
केही दिनअगाडि उपमेयर कार्कीले अनुगमन गर्दा म्याद गुज्रेका पेय पदार्थहरू जफतगरी नष्ट गरेको भए पनि सो पर्याप्त नहुँदा व्यवसायीले कमाउने चलखेल बढाएको आरोप स्थानीयको छ । ५० दिनको लकडाउन अवधिमा महानगपालिकाले एक पटक मात्रै बजार अनुगमन गरेको छ । एक पटक अनुगमन गरेपछि अहिलेसम्म फेरि बजार अनुगमन नगर्दा कालाबजारी व्यवसायी उत्साहित भएको धारणा स्थानीयको छ । व्यवसायीहरूले मानव स्वास्थ्यलाई समेत ख्यालै नगरी म्याद नाघेका खाद्य सामग्री, पेय पदार्थदेखि भारतबाट आयात भएका कम गुणस्तरका खाने तेल र खैनी गुट्का बिक्री गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउन आवश्यक भइसकेको छ ।
खाद्यान्न व्यवसायीले अहिले मूल्यसूचीसमेतको अनुसरण समेत नगरी जथाभावि मूल्य कायम गरेको देखिन्छ । व्यवसायीले लकडाउनका बेला खाद्यान्न खरिद तथा बिक्री गर्नका लागि प्रशासनबाट तोकिएको समयमा उपभोक्तालाई सामाजिक दूरीको पालना समेत गरेको देखिँदैन । जसले गर्दा प्रशासनबाट पाएको छोटो समयमा उपभोक्ताले खरिद गर्ने सामानमा कुन म्याद गुज्रेका र कुन म्याद भएका सामान निक्र्योल गर्न नसकेको अवस्थामा व्यवसायीले झुक्याएर सामान खरिद तथा बिक्री गर्ने गरेको गुनासो उपभोक्ताको छ ।
महानगरपालिकाको कमजोर बजार अनुगमनका कारण अहिले महनगर पालिकासहित मोरङका ग्रामीण सहरमा गहुँको आटा, चामल, तेल, दाल, पेय पदार्थ, खैनी, गुट्कादेखि अन्य खाद्य सामग्री गुणस्तरीय नभएको दाबीसमेत समाचारस्रोतले गरेको छ । जसले गर्दा लकडाउनका कारण नेपालको व्यापारमा कडाइ भएको देखिए पनि भारतीय बजार जोगबनीको कारोबार निकै गुलजार भएको कुरा स्रोतले बताएको छ । खुला सिमानाकाका कारण रातिको समयमा सीमा सुरक्षामा खटिएका प्रहरीको सेटिङमा नै खुलेयाम भारतीय खाद्य सामग्रीदेखि खैनी गुट्का निर्बाधरूपमा नेपाल आएको दाबी समाचारस्रोतले गरेको छ ।