काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पीडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।
तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने भन्दै अध्यक्ष निउरेले भने, ‘यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पीडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन पाँच लाख गरी कूल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौं ।’
जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमा ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ सञ्चालन गरि भूकम्प पीडित परिवारलाई आवश्यक सहयोग गर्ने गरी योजना बनाएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए । खरेलका अनुसार शुक्रबार राति आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मलमपट्टि लगाउन र उहाँहरुको दुःखमा हामीहरू समेत साथमा छौ भन्नका लागि आवश्यक राहतका लागि जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमा ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ सञ्चालन गरिने छ ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमद्वारा शनिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनए जापानको नेतृत्वमा ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ सञ्चालन गरिने भएकोले उक्त अभियानमा सक्रियतापूर्वक सहभागिताका लागि जापानस्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूर्णमा विषेश अपिल समेत गरेका छन् ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी नेपालका त्यस क्षेत्रका सयौंको ज्यान जानुका साथै हजारौ घाइते भई ठूलो मात्रामा भौतिक क्षति भएको छ ।