सोलुखुम्ब । हिमाली जिल्ला सोलुखुम्बु भ्रमणमा आएका एक दर्जन बढी विदेशी नागरिकको मृत्यु भएको छ । यस वर्षको वैशाखदेखि हालसम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना, अमेरिकाका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्वीट्जरल्याण्ड र कोरियाका एक/एक जना रहेको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । उनका अनुसार वैशाखमा एक जना, जेठमा पाँच जना, असोजमा दुई जना, कार्तिकमा पाँच जनाको मृत्यु भएको छ । हिमाल आरोहणको क्रममा चेक रिपब्लिकका एक जनाको भएको छ भने अन्य १२ जनाको लेक लागेर वा विभिन्न कारण भ्रमणकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कतिपय पर्यटकहरू बेपत्ता भई पछि खोजतलास गर्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु भ्रमणमा आएर बेपत्ता भएको भनिएका एक जना जर्मन नागरिक भने अझैसम्मपत्ता लाग्न नसकेको बताइएको छ ।