काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्र र त्यस आसपासमा रहेका निर्माण स्थलका निर्माण कम्पनीहरूलाई यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनस्र्थापना कार्यमा जुट्न आह्वान गरेको छ ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै समग्र मुलुक नै एक भएर घाइतेहरूको उद्धारमा जुट्न आवश्यक भएकाले सो कार्यमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गरेको हो ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएको ठूलो मानवीय एवम् भौतिक क्षतिबाट आफू स्तब्ध एवम् मर्माहत भएको महासंघले जनाएको छ । महासंघले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
यस्तै, भूकम्पमा परेका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारलगायतका सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ ।