नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस विपत्को घडीमा नेपाललाई सम्भावित सवै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेका छन्, ‘नेपालमा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत नेपाली जनताप्रति ऐक्यवद्धताका साथ उभिएको छ र हरसम्भव सहयोग गर्न तयार छ ।’ उने भने, ‘शोक सन्तप्त परिवारजनप्रति हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
नेपालमा गएको छ दशमलव चार म्याग्नीच्यूडको शक्तिशाली भूकम्पमा परी शनिबार साँझसम्म एक सय ५७ जनाको मृत्यु हुनुका साथै दुई सय बढी घाइते भएका छन् । प्राप्त विवरणअनुसार जाजरकोट र पश्चिम रूकुममा सबैभन्दा बढी क्षति भएको छ ।