काठमाडौँ । भारतले नेपालाई २५ हजार टन चिनी उपलब्ध गराउने जनाएपछि सरकारले चिनी खरिद प्रक्रिया आइतबारबाट सुरु गर्ने बताएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ ।
वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बजारमा चिनी अभाव नहुने बताएका छन् । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएपछि बजारमा चिनी अभाव भएको थियो ।
भारतबाट चिनी आयात भएपछि अहिले देखिएको चिनीको कालोबजारी घट्ने अपेक्षा रहेको उनले भनाइ छ । जी टू जी प्रक्रियाबाट ल्याउने चिनीको भन्सार महसुल ५० प्रतिशत मात्र तिर्नुपर्ने भएकाले पहिलेको चिनीको तुलनामा मूल्य कम पर्ने उनले बताए ।
बजारमा चिनीको अभाव भएको गुनासाहरू आएपछि नियमित अनुगमनका क्रममा विभागले मात्र ८५ हजार केजी चिनी जफत गरेको चिलुवालले जानकारी दिएका छन् । उनले जफत गरेको चिनी भन्सार प्रशासनको जिम्मा लगाइएको बताए ।