गोदावरी (कैलाली) । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गमा कालोपत्र गर्ने काम अघि बढेको हो ।
गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको हुँदा उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । उनका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो ।
रावलले धनगढी–स्याउले सडक खण्डको १३ दशमलव चार र दीपायल–बाजमोर्ड खण्डको नौ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको बताए । कैलालीमा थप साँढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । बजेट अभावका कारण विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालु आवमा सङ्घीय सरकारले रू. २५ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।