काठमाडौं । देशभित्रै दक्ष जनशक्ति उत्पादन नहुँदा विभिन्न आयोजनाका लागि विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । उद्योग तथा व्यवसाय, निर्माण, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति स्वेदशमा नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ । इन्जिनियर, पाइलट, चिकित्सक, प्राविधिकलगायतका दक्ष जनशक्तिहरू स्वदेशमा अभाव भएपछि विदेशबाट ल्याउनुपरेको गुनासो निजी क्षेत्रको छ ।
देशभित्रै अलिकति दक्ष भएपछि कामका लागि विदेश जाने प्रवृत्तिले पनि यहाँ जनशक्ति अभाव भएको सरकारी अधिकारीहरू बताउँछन् । स्वदेशको जनशक्ति तेस्रो मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था छ भने अर्कोतर्फ विभिन्न आयोजनामा काम गर्ने उच्च तहका दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ ।
विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच सय ८४ जना गैरनेपाली नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । जसमध्ये दुई सय ६४ जनालाई नयाँ श्रम स्वीकृति र तीन सय २० जनालाई श्रम स्वीकृति नवीकरण गरिएको विभागले जनाएको छ । यसरी श्रम स्वीकृति लिएर आउने अधिकांश जनशक्ति उच्च दक्ष जनशक्ति हो ।
पछिल्लो छ वर्षमा १२ हजारभन्दा बढी दक्ष विदेशी श्रमिकलाई श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । सन् २०१७ देखि अहिलेसम्म नयाँ र पुनः श्रम स्वीकृति गरी १२ हजार ६० जना दक्ष विदेशी श्रमिकलाई श्रम स्वीकृति प्रदान गरिएको छ । जसमा पुरुष १० हजार छ सय ६१ जना र महिला एक हजार तीन सय ९९ जना छन् । यसमध्ये नयाँ श्रम स्वीकृति लिनेको संख्या चार हजार तीन सय ८७ छ । जसमा पुरुष तीन हजार सात सय ५९ र छ सय २८ महिला । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेमा सात हजार छ सय ७३ जना छन् । जसमा पुरुष छ हजार नौ सय दुई र महिला सात सय ७१ जना छन् ।
दक्ष विदेशी श्रमिक एक पटक आएपछि पुनः श्रमस्वीकृति लिई निरन्तर काम गरेको संख्या भने कम रहेको विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले बताए । ‘नेपालमा काम गरी त्यसलाई केही बढी समय निरन्तरता दिन चाहने विदेशी श्रमिको संख्या थोरै रहेकोे छ भने नयाँ आउनेको संख्या भने सदैव उच्च हुनेगरेको छ’, उनले भने, ‘परियोजनासँग सम्झौताका कारण लामो समय बस्नुपर्ने हुँदा उनीहरू नेपालमा काम गरेर बस्ने गरेका छन्, अन्यथा विदेशी दक्ष श्रमिकलाई यहाँको भन्दा केही मात्रामा भए पनि आफ्नो मुलुकमा विशेषगरी युरोप, अमेरिकाका नागकिरलाई सुविधा बढी हुने हुँदा उनीहरू स्वदेश फर्किन चाहन्छन् ।’
बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक अनिवार्यरूपमा श्रम स्वीकृति लिई नेपालमा काम गर्दै आएका छन् । नेपाल आउने विदेशी श्रमिकहरूमध्ये महिलाको तुलनामा पुरुषको संख्या बढी छ । दक्ष विदेशी श्रमिक धेरै मुलुकहरूबाट आउने हुँदा कुन–कुन मुलुकका दक्ष श्रमिक आवश्यक पर्छ भनी यकिन गर्ने भने कठिन छ । नेपालसँग सिमाना जोडिएका दुई मुलुक भारत र चीनसहित एसियाली मुलुकहरू जापान, कोरिया, कुवेत, मलेसिया, भुटान, बंगलादेशबाट नेपालमा काम गर्न आएको पाइन्छ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, स्पेन, केन्या, चिली, कम्बोडिया, इथिओपियालगायतका मुलुकबाट पनि नेपालमा काम गर्न आउनेगरेका छन् । अन्य मुलुकको तुलनमा अफ्रिकन मुलुकबाट भने न्यून मात्रामा श्रमिक आउनेगरेका छन् ।
श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै चिनियाँ र बेलायती श्रमिक छन् । छ वर्षमा आठ हजार पाँच सय ६३ जना चिनियाँ र पाँच सय ४६ जना बेलायती नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । यसबाहेक, तीन सय ९१ अमेरिकी नागरिक, दुई सय ४४ भारतीय, दुई सय ८३ दक्षिण कोरियाली, दुई सय ४० जापनिज, एक सय ३३ अष्ट्रेलियन, एक सय १८ श्रीलंकन, एक सय ११ जर्मनी, ८५ इटलियन, ८९ फ्रान्सेली, ९२ फिलिपीनी र ४३ स्पेनी कामदार रहेका छन् । यसबाहेक कनाइजेरिएन ४९ जना, भनेजुयला सात जना, सर्बिया चार जना र प्लेसटाइनबाट दुई जनाले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको देखिन्छ ।
चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म दुई सय तीनवटा आपूर्तिकर्ता संस्थाबाट नेपालमा काम गर्न आउने गरेका छन्् । यी संस्थाहरूले विदेशी श्रमिक ल्याउन सहजीकरण गर्नुका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतको काम गर्दै आएका छन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुराउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदै आएको छ ।
दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ । सरकारले दक्ष जनशक्ति उत्पादनमा ध्यान नपु¥याउँदा विदेशबाट दक्ष श्रमिक ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिमा नेपाल छ ।