त्रिवेणी (रुकुम पश्चिम) । राहतसँगै मृतकका परिवारलाई रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले किरियाखर्च उपलब्ध गराएको छ । आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई रु. २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।
उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सोअन्तरगत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ । मृत्य भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो ।
सोमबार प्रभावित क्षेत्रमा पुगेर बाँकी मृतकका परिवारलाई राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए । मृतकका परिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ । बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरियाखर्च दिन बाँकी रहेको उनले जानकारी दिए ।
नगरपालिकालाई विभिन्न ठाउँबाट सङ्घ संस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ ।
राहत वितरणका लागि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिहेको छ । भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठूलो क्षति पु-याएको छ ।