काठमाडौं, वैशाख ३१
एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् । विश्वव्यापी महामारी (कोभिड १९) को कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालू आवको तेस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा १२ प्रतिशतले अर्थात् ३८ करोड रूपैयाँले वृद्धि गरी तीन अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा १० प्रतिशतले अर्थात् २६ करोड रूपैयाँको वृद्धिसहित दुई अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा दुुई अर्ब २८ करोड रूपैयाँ रहेको थियो ।
यस आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्ब रूपैयाँले वृद्धि गरी एक खर्ब ७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी एक खर्ब ९६ अर्ब रूपैयाँ पु-याएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एसिया बैंक देशमै अग्रणीमध्येमा पर्छ । बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्णरूपले पालना गरेको छ । विविधीकरणकै रणनीतिअनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको पाँच प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ क्षेत्रको उत्कृष्टमध्ये पर्दछ ।
निक्षेपतर्फ पनि बैंक विविधीरणको रणनीतिअनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपका आठ दशमलव सात प्रतिशत रहेको छ, जुन बैंकिङ क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले चालू आवको नौ महिनामा छ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेपतर्फ १० ग्राहकहरूको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले बैंक देशकै अग्रणी बैंकहरूमा पर्दछ ।
कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको वृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल मुुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ६१ एटीएम, एक सय आठवटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दे आएको छ । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।