काठमाडौं । जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार मालपोत अधिकृत मिश्र, सोही कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू क्रमशः भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्यात र चन्द्रबहादुर भण्डारी र तत्कालीन कम्पयुटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्ययविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा उपाध्यायको मृत्यु भइसकेकोले निजका अंश खाने अंशियारहरू राज किशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्याय देखिएको हुँदा उनीहरूविरुद्ध विशेष अदालतामा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूले मालपोत कार्यालय पर्साको रजिस्टे«सन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम राजस्व हिनामिनामा संलग्न अधिकारीहरूलाई बिगो, जरिबाना र कैद माग गर्दै आरोपपत्र दायर गरेको छ । सो क्रममा मालपोत अधिकृत मिश्रले जग्गा किनबेचको क्रममा एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिस्टे«सन लिखत दर्ता कित्ताबाट प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको बताइएको छ ।
राजस्व चुहावट गरेको अरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिबाना तथा आठ वर्षदेखि १० वर्षसम्म कैद माग गरेको छ । अर्का मालपोत अधिकृत बोगटीलाई एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना र आठ वर्षदेखि १० वर्षसम्मको कैद माग गरेको छ भने अर्का मालपोत अधिकृत ढुंगानालाई ३५ लाख ४५ हजार नौ सय ५० रुपैयाँ बिगो र बिगोको दोब्बर जरिबाना र दुई वर्षदेखि चार वर्षसम्म कैद माग गरिएको छ ।
मालपोत अधिकृत अर्याललाई १६ लाख ८१ हजार छ सय रुपैयाँ बिगो र बिगोको दोब्बर जरिबाना तथा दुई वर्षदेखि चार वर्षसम्म कैद माग गरिएको छ भने अर्को मालपोत अधिकृत भण्डारीलाई दुई लाख ४४ हजार चार सय ६२ रुपैयाँ बिगो र सोही बिगोको दोब्बर जरिबाना र छ महिनादेखि डेढ वर्षसम्म कैद माग गरिएको छ ।
कम्युटर अधिकृत तिवारीको हकमा भने एक करोड ४१ लाख ४७ हजार एक सय ७१ रुपैयाँ बिगो र बिगोको दोब्बर जरिबाना र आठ वर्षदेखि १० वर्षसम्म कैद माग गरिएको छ । नायब सुब्बा उपाध्यायको अंश खाने अंशियारहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग भने सरकारलाई हानिनोक्सानी गरेको बिगो पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ रुपैयाँ दामासायीले असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको बताइएको छ ।