एथेन्स, वैशाख ३१
दर्जनौँ शरणार्थीलाई आप्रवासीहरूको व्यवस्थापनमा सञ्चालित एक होटेलमा सार्ने योजना गत हप्ता सार्वजनिक भएसँगै उत्तरी ग्रिसको एउटा गाउँ अर्निसामा रहेको उक्त होटेलमा स्थानीयले लुटपाट तथा आगजनी गरेका छन् । गाउँका करिब २५० व्यक्ति होटलमा प्रबेश गरी बहुमुल्य सामानहरू लुट्नुका साथै आगजनी गरेका छन् । उनीहरूले खाली होटेलमा प्रवेश गरी उक्त हिंसात्मक कार्य गर्नुको उद्देश्य त्यस होटेलमा वा गाउमा आप्रबासी शरणार्थीलाई राख्ने सरकारी योजनाको विरोध गर्नु रहेको बताएका छन् ।
एक युवतीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘घटना साँच्चै त्रासदीपूर्ण थियो । गाउलेहरूले होटेलमा रातिमा ढुङ्गामुढा गरे, बहुमुल्य सामानहरू लुटेर लगे र अन्त्यमा आगो लगाए ।’ उनले रातिमा भएको हुलदङ्गाका कारण होटेलको नजिकै बस्ने मेरा वृद्ध पिता त्रासले रातभर निदाउन नसकेको बताइन् ।
ग्रिक सरकारले शरणार्थी शिविरमा भएको भिडलाई कम गर्न करिब शरणार्थीका लागि निवेदन दिएका करिब दुई हजार आप्रवासीलाई टापूबाट मुख्यभूमि (बस्ती)मा सार्ने प्रतिबद्धता जाहेर गरेको केही समयपछि उक्त घटना भएको हो । युरोपमा कछुवा गतिको शरणार्थी व्यवस्थापन प्रणालीको भार सहनुपर्दा वाक्क बनेपछि स्थानीयले आफ्नो वस्तीमा आप्रवासीको ल्याउने कुराको विरोध गरेका हुन् । सरकारका प्रवक्ता स्टेलियो पेटासले सोमबार भने मे ५ गते भएको उक्त घटना ‘गलत सूचना’का कारण सिर्जित अवस्था भएको बताएका छन् । आप्रवासीबाट कोरोनाभाइरस फैलिने भयका कारण स्थानीय विरोधमा उत्रिएका सरकारले बताएको छ ।
प्रवक्ताले भने, ‘कोरोना भाइरसको संकटको सुरूवातसँगै सरकारले आप्रवासीबाट संक्रमण फैलिन नदिन विशेष उपायको अवलम्वन गरेको छ ।’ प्रहरीले होटेलमा भएको आक्रमणको अनुसन्धान थालेको र दोषीमाथि कारबाही चलाइने बताएको छ । घटनालाई लिएर अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन । आगजनीबाट होटेलका झ्याल, ढोका तथा फर्निचरहरू फुटेका र कोठाहरू ढुङ्गा, इँट्टा र आगलागीपछि निस्केको खरानीले असरल्ल बनेका प्रहरीले बताएको छ ।
होटेलको मालिकले स्थानीयको डरका कारण आफ्नो परिचय नदिन वा समाचार नछाप्नसमेत याचना गरेका थिए भने केही स्थानीयले सरकारको निर्णयप्रति विरोध जनाउँदै आफुहरूको वस्तीमा शरणार्थीलाई स्वागत गर्न नसक्ने बताएका छन् ।