नयाँ दिल्ली, वैशाख ३१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटकै बीच राष्ट्रका नाममा सम्बोधन गर्दै २० लाख करोड भारुको प्याकेज घोषणा गरेका छन् । मोदीले आत्मनिर्भर भारत अभियानको घोषणा गर्दै उक्त प्याकेजको घोषणा गरेको नवभारत टाइम्सले जनाएको छ । यससम्बन्धी विस्तृत विवरण भने बुधबार वित्तमन्त्री निर्मला सीतारमणले जानकारी दिने उनले बताएका छन् । उक्त प्याकेज कुल जीडीपीको करिब १० प्रतिशत रहेको बताइएको छ ।
मोदीले भने, ‘विभिन्न वर्ग, आर्थिक व्यवस्थालाई अभियानमार्फत २० लाख करोड भारुको सहयोग मिल्नेछ ।’ उनले यो प्याकेजले २०२० मा देशको विकास यात्रा र आत्मनिर्भर भारत अभियानलाई एक नयाँ गति दिने विश्वास व्यक्त गरेका छन् । पछिल्लो दुई महिनामा प्रधानमन्त्री मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो । भारतमा मे १७ सम्म अहिले पनि लकडाउन चलिरहेको छ ।