काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुनः सेवा दिने भएका छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हाले लगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए । काउन्सिलमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरिसकेपछि डा कोइराला पुनः ह्याम्समा फर्किएका हुन् । अब उनले ह्याम्समा प्रत्येक दिन दुई बजेदेखि सेवा दिने छन् ।
अस्पतालका अध्यक्ष आरएस भण्डारीले ह्याम्स अस्पताल सम्पुर्ण मुटु उपचारको उत्कृष्ट केन्द्रका रूपमा सञ्चालन भएको बताए । उनले मुटुको सबै विधाका दक्ष र अनुभवी चिकित्सकहरूको टिम ह्याम्स रहेको दाबी गरे । गत साउन ९ गतेबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका डा कोइराला अवकाशपछि अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा भिजिटिङ प्रोफेसरका रूपमा समेत आबद्ध छन् ।