कास्की । बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक भारतीय युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
एटीएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पेचकस, रड र कैँची एक–एक थानसहित उनी एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।