काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा यही कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहजरूपमा कृषि, पशुपालन र जडीबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैंकले लिएको छ ।
बैंकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याइसकेको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।