काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । आज(बिहीबार) निवेदन सुनुवाइका लागि पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित गरिएको हो ।
चौधरी ०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । ०७५ फागुनमा सर्वोच्च अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । रिहा भएपछि टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । बिहीबारका लागि तोकिएको सोही निवेदनको सुनुवाई स्थगित भएको हो ।