काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले खेलाडीहरूलाई २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ । नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी–२० नेपाली क्रिकेट टोलीलाई आईएमई लाइफले बिमाङ्क २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरूप खेलाडीलाई उक्त जीवनबीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो । टी–२० विश्वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगत्मा महत्वपूर्ण योगदान पु-याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने घोषणा कम्पनीले विज्ञप्तिमार्फत गरेको हो । युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ। राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीलाई टी–२० विश्वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगत्लाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।