काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको युट्युबर मनोज मानवलाई बार्गेनिङ गर्ने आपराधिक गिरोहका मुख्य योजनाकार भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो उल्लेख गरेका हुन् ।
‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई ब्यूरोको टोलीले बुधबार (हिजो) साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन् । उता विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको उल्लेख गरेपनि ब्यूरोले भने कसका उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे खुलाएको छैन ।
नेता बस्नेतले आफ्नो स्टाटसमा युट्युबर मनोज विभिन्न जनसमुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने विविध खालका बार्गेनिङ गर्ने एउटा अपराधी गिरोहको मुख्य योजनाकार भएकोले अधिकतम कानुनी कारवाही हुनेपर्ने उल्लेख गरेका छन् । नेता बस्नेतले युट्युबर मनोजलाई अर्काको फोटो भिडियो एडिट गरी चरित्र हत्या गर्ने गरेको आरोप लगाएका छन् ।
मनोजले केही दिनअघि नेता बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडियो सार्वजनिक गरेका थिए । त्यस्तै, पूर्वआईजीपी रणबहादुर चन्द र तारा बराल बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेर भिडियो बनाएका थिए, सोही क्रममा तारा बरालले मनोजलाई थुकेको भिडियो सार्वजनिक भएको थियो ।