काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ)हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए । महतले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जनाउँदै भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए ।
विश्व बैङ्क र एडिपीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री महतले बताए। उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए । उनले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्याएको जानकारी दिए ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठुलो चुनौती भोगिरहेको अर्थमन्त्री महतले बताए । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए ।