राँझा (बाँके) । मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा बिहीबार नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले घर, फर्निचर र मैदानमा गरिने रङरोगन, आयुर्वेदिक औषधि, बालबालिकाका खेलौना, सौन्दर्य सामग्रीलगायत वस्तुमा हुने सिसाको प्रयोगलाई निरुत्साहित गर्न उपभोक्तामा सचेतना जगाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मानव स्वास्थ्य सबैभन्दा संवेदनशील विषय भएकाले सिसाको प्रयोगलाई निरुत्साहित बनाउन उपमहानगरले अभियान सञ्चालन गर्ने राससलाई बताए । नगरवासीमा स्वास्थ्य सचेतना जगाएर उपभोग्य सामग्री तथा अन्य वस्तुमा सिसाको प्रयोगलाई निरुत्साहित गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सारमा स्वास्थ्य, वातावरण र सुरक्षा प्रभाव पार्ने वस्तु तथा सामानको आयातमा निषेध गर्ने गरेको बताउँदै मापदण्ड भन्दा बढी सिसाको प्रयोग भएका सबैखाले वस्तु आयातमा चासो दिने प्रतिबद्धता व्यक्त गरे ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका निमित्त प्रमुख अमितभूषण सुमनले मापदण्ड भन्दा बढी सिसा प्रयोग भएका खाद्यवस्तु तथा सौन्दर्य सामग्रीको प्रयोगले केन्द्रीय स्नायु प्रणालीमा असर पर्ने बताउँदै बालबालिका, गर्भवती र वृद्धालाई बढी खतरा हुने भएकाले प्रयोग नगर्न आग्रह गरे । सरकारले खाद्य सामग्रीमा दुई दशमलव पाँच, खानेपानीमा शून्य दशमलव शून्य एकको मापदण्ड तोकेको जानकारी दिँदै सबै सरोकारवाला निकाय लागेर आम उपभोक्तालाई यो विषयमा जानकारी दिएर सिसाको अधिकतम प्रयोगलाई निरुत्साहित गर्न सकिने उनले बताए ।
घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी उपाध्यक्ष दिला शाहले आफुहरुले प्रयोग गर्ने सौन्दर्यताका सामग्रीमा प्रयोग भएको सिसाका कारण रोग निम्त्याइरहेकाले अब महिला दिदीबहिनीमा पनि सचेतना जगाउन आफू लाग्ने बताइन् । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका अधिकृत राजाराम पोटे श्रेष्ठले चेतनाको कमिका कारण सिसाबाट हुने जोखिम बढ्दै गएको उल्लेख गरे ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र काठमाडौँका अध्यक्ष रामचरित्र साहले घर, फर्निचर, खेलौना, पेन्टस र कस्मेटिक सामानमा सरकारले तोकेको मापदण्ड भन्दा बढी सिसाको प्रयोग गरेको पाइएको जानकारी दिँदै सबै सरोकारवाल निकायले चासो र चिन्ता दिनुपर्ने बताए । विश्व स्वास्थ्य सङ्गठन नेपाल, एकीकृत सामाजिक विकास केन्द्र बाँके र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।