काठमाडौं । वैदेशिक रोजगारका लागि कतार पठाइदिन्छु भन्दै एक महिलाबाट करिब दुई लाख रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । काठमाडौं मनमैजु बस्ने मोरङका ३३ वर्षीय भिम बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी एक लाख ८६ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।
ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।