भोजपुर । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईका अनुसार भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार रकम बराबरको क्षति भएको हो ।
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद १५ हजार रुपैयाँसमेत नष्ट भएको उनले बताए । राससले जनाएनुसार जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । अहिले आगलागीका कारण बिष्ट परिवार विचल्लीमा परेको छ ।