बाँके । धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको अभियोगमा ३० वर्षीय आकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका–११ बस्ने रानालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २९ वर्षीय मिन बहादुर बिकलाई रानालगायतका व्यक्तिहरूले कात्तिक ३० गते खुकुरी प्रहार गरी फरार भएका थिए । फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले जानकी गाउँपालिका–४ स्थित खेतको अरहर घारीमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई फेला पारेको हो ।
प्रहरीलाई धकेली भाग्न खोज्दा प्रहरीले फायर गरी रानालाई नियन्त्रणमा लिएको जनाइएको छ । सोही क्रममा घुँडामा गोली लाग्न गई घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
रानाविरुद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरी समेत दर्ता भएको र ०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागू औषध ब्राउनसुगर मुद्दामा कैद सजाय भई ०७९ भदौ २७ गते कैदमुक्त भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।