काठमाडौँ । छठ पर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
यस पर्वले आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै अगाडि बढ्नसमेत मार्ग प्रशस्त गर्ने नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठपर्वका अवसरमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको मानिन्छ ।”
यस पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित रहेको उल्लेख गरे । उनले नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको बताए ।
प्रधानमन्त्रीले छठ पर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।