काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतका लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई दुई सय थान, भेरी नगरपालिकाका नगर प्रमुख दलबहादुर घर्तीलाई दुई सय थान र आठबीसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुमबहादुर पुनलाई तीन सय थान गरी कुल सात सय थान कम्बल हस्तान्तरण गरेको कम्पनीले जनाएका छन् । न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका भूकम्पबाट पीडित जनताका लागि कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सात सय थान कम्बल प्रदान गरेको हो । भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भइरहेको कारण कसैले पनि कठिन परिस्थितिको सामना गर्नु नपरोस् भन्ने उद्देश्यका साथ पीडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ सात सय थान कम्बल प्रदान गरिएको कुरा बताएका छन् । अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिएका छन् ।