बारा । पचरौता नगरपालिका–७ बेनौलीस्थित महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई झडपहुँदा प्रहरीले झडप नियन्त्रण गर्न ८ राउन्ड हवाई फायर गरेको छ ।
सोमबार दिउँसो झन्डा मेला लगाउने विषयलाई लिएर बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा वाद–विवाद भई ढुङ्गामुढा हानाहान तथा झडप भएपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो ।
सोमबार राती गाउँमा हुने बह्मबाबाको पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
सो विवादमा भएको ढुङ्गामुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षे चण्डीका पटेलको खुट्टा भाँच्चिएको प्रहरीले जानकारी दिए । घाइते दुवैजनाको अस्पतालमा उपचार भइरहेको छ ।