काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८०’ कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त सबै संस्थाहरुलाई जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ र यो निर्देशनपूर्व जारी गरिएका सम्पूर्ण निर्देशन तथा परिपत्रहरुलाई एकीकृत गरी तयार पारिएको नयाँ निर्देशन मंगलबारदेखि नै कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थाअन्तर्गत राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई विद्युतीय भुक्तानी कार्ड सञ्चालन सम्बन्धमा ‘भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५’ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन दिएको हो । निर्देशनअनुसार विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत व्यवस्था सम्बन्धित संस्थाले गर्नुपर्नेछ । विद्युतीय भुक्तानी कार्ड जारी गर्नुपूर्व आवश्यक नीति सञ्चालक समितिबाट पारित गरी लागू गर्नुपर्नेछ भने विद्युतीय भुक्तानी सेवा सञ्चालन र सुरक्षा तथा जोखिम व्यवस्थापनलगायतका मापदण्डसम्बन्धमा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनको पालना हुनेगरी नीति अद्यावधिक गर्नुपर्नेछ ।
राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाले विद्युतीय भुक्तानी कार्ड (फिजिकल र भर्चुअल) जारी गर्दा अनुमतिपत्रप्राप्त वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्डलगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त राष्ट्रियस्तरबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरु तथा राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले भने क्रेडिट कार्डबाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशभित्र सञ्चालन हुनेगरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् । निर्देशिकाअनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकभन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न पाइने छैन ।
अनुमतिपत्रप्राप्त संस्थाले ग्राहकलाई उपलब्ध गराउने विभिन्न कार्ड योजनाका बारेमा ग्राहकलाई जानकारी गराई कार्ड योजना छनौट गर्ने सुविधा ग्राहकलाई नै दिनुपर्नेछ । विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरूलगायतका विषय समेटिएको सूचनामूलक सामग्री प्रदान गर्नुपर्नेछ ।
कार्ड प्रयोग गर्न महत्वपूर्ण सर्त तथा बन्देजको सूचीमा कार्डबाट गर्न सकिने कारोबारको प्रकार, कार्ड जारी गर्दा तथा कारोबार गर्दा तिर्नुपर्ने सेवा शुल्क, कारोबारको संख्या सीमा भएमा सोको विवरण, नगद तथा भुक्तानी कारोबारको सीमा, क्रेडिट कार्डको हकमा क्रेडिट सीमा, कार्डमार्फत गरिएको कारोबारको बिलिङको समयावधि तथा माध्यम, रकम भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी गर्न नसकेमा वा न्यूनतम रकम मात्र तिर्दा लाग्ने ब्याजदर तथा हर्जाना र सोको लेखाहिसाबको विधि उल्लेख गर्नुपर्नेछ । यसैगरी सुरक्षित कारोबारको लागि कार्ड प्रयोग गर्दा ग्राहकले अपनाउनुपर्ने सजगता, सेवा बन्द गर्न ग्राहकले अवलम्बन गर्नुपर्ने प्रक्रिया, कार्ड हराएमा वा चोरी भएमा तथा कारोबारको क्रममा कुनै समस्या परेमा तत्काल सहयोग प्राप्त गर्न ग्राहकले सम्पर्क गर्ने माध्यम, कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअगावै सोको सूचना ग्राहकलाई एसएमएस वा ग्राहकले तोकेको अन्य विद्युतीय माध्यमबाट समेत दिनुपर्नेछ ।
विद्युतीय भुक्तानी कार्डमार्फत हुने कारोबार सम्बन्धमा भने सम्बन्धित संस्थाले खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाले एटीएम, क्यास डिपोजिट मेसिनबाट नगद कारोबार गर्ने, वस्तु खरिद वा सेवा उपभोग गरेबापतको रकम प्वाइन्ट अफ सेल (पोस), प्वाइन्ट अफ ट्रान्सजिक्सन (पीओटी) वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्ने, विद्युतीय माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर गर्नेलगायतका कार्यहरु गर्न सक्नेछन् ।
यस्तै, एटीएम कार्डमार्फत हुने सम्पूर्ण कारोबार चिप र पीनमा आधारित हुनुपर्नेछ । संस्थाले जडान गरेको एटीएमलगायतका उपकरणहरू समयमै मर्मतसम्भार तथा आवश्यकताअनुसार स्तरोन्नति गर्ने व्यवस्था गर्नुपर्नेछ ।