काठमाडौं । भन्सार प्रशासनले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा करिब सात प्रतिशतले बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा एक खर्ब २८ अर्ब राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा एक खर्ब ३७ अर्ब राजस्व संकलन गरेको हो ।
भन्सार विभागले अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि र पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमनलगायतका कार्यलाई प्रभावकारी बनाएको कारण आयातमा कमी आए पनि राजस्व संकलन बढी गरेको हो ।
अनलाइन अनुगमनको क्रममा भन्सार मूल्याङ्कन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐनअनुसार कारबाही गर्न लगाउने गरिएको र यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाएर कडाइ गरिएको कारण राजस्व संकलनमा सुधार आएको बताइएको छ ।
त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउनेजस्ता नीति विभागले अवलम्बन गरेको छ ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयात व्यापारमा तीन दशमलव ७९ प्रतिशतले कमी आएको छ । तर राजस्व संकलनमा भने सुधार आएको छ । गत वर्ष पाँच खर्ब ३३ अर्बको आयात भएकोमा चालू वर्षको सोही अवधिमा पाँच खर्ब १२ अर्बको मात्र आयात भएको छ ।
भन्सारबाट संकलन हुने राजस्व आयात व्यापारमा आधारित भएकाले वस्तुको आयात बढ्दा राजस्व पनि बढ्ने र वस्तुको आयात घट्दा राजस्व समेत घट्ने गर्छ । सुधारको कारण यो वर्ष त्यसको ठीक विपरीत देखिएको हो ।
विभागले प्रत्यक्ष अनुगमनबाट मात्रै चालू आर्थिक वर्षको श्रावण महिनामा १२ करोड १८ लाख, भदौमा १४ करोड, असोजमा २० करोड र कार्तिकमा १२ करोड थप राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा दुई करोड ३० भदौमा एक करोड ८६ लाख, असोजमा ८३ लाख र कार्तिकमा पाँच करोड १० लाख थप राजस्व असुल गरेको थियो ।