काठमाडौं । सर्वोच्च अदालतले नेपालमा टिकटक प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको अधिकांश नागरिकले स्वागत गरेका छन् भने केही कानुनविद् तथा नागरिक अगुवाहरुले मात्रै विरोध जनाएका छन् ।