काठमाडौं । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा आज(बुधबार) आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री दाहाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
राससले जनाएनुसार उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेका प्रधानमन्त्री दाहाललाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषबाट उक्त ऐतिहसिक निर्णय गराएका प्रधानमन्त्री दाहाललगायत मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ ।