काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले ५९ खर्ब १६ अर्ब रुपैयाँँ निक्षेप छ । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्येमा वाणिज्य बैंकहरूमा मात्र ५२ खर्ब ३२ अर्ब रुपैयाँँ निक्षेप छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा छ खर्ब ८४ अर्ब रुपैयाँँ छ ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ४९ खर्ब ८४ अर्ब रुपैयाँँ छ । यसमध्ये वाणिज्य बैंकको ४४ खर्ब १० अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीले पाँच खर्ब ७४ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।
निक्षेप र कर्जाबीच झण्डै नौ खर्ब ३२ अर्ब रुपैयाँँको फरक छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ८१ दशमलव ३५ प्रतिशत छ । बैंकहरु अझै पाँच खर्ब रुपैयाँँभन्दा बढी कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छन् । तर, अहिले अर्थतन्त्रमा आएको संकुचनकै कारण कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्थामा नभएको बैंकर बताउँछन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँँ तान्न लागेको छ । निक्षेप संकलन उपकरणमार्फत बुधबार सात दिनको अवधि तोकेर बोलकबोल गरेको छ । बुधबार निष्काशन भएको निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी मंसिर १३ गते हुनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरेको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।