काठमाडौँ । बिहीबार हरिबोधनी एकादशी परेकोले काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
भगवान् विष्णुको प्रतीकका रुपमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व बिहीबार मनाउन लागिएको हो ।
बिहीबार बिहानैदेखि काठमाडौँका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ ।
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु भगवान् आज ब्युँझनु हुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरेक वर्षको कार्तिक महिनाभर देवीदेवताहरु तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ ।