काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।
प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेको छैन । बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोक्ने क्रममा उनीहरुको प्रहरीसँग धकेलाधकेल भएको थियो ।
सरकारले जनप्रशासन क्याम्पसबाहिरको सडक बल्खुमा प्रदर्शनस्थल तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए । प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेको थियो । चक्रपथमा युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच बिहीबार विहान केहीबेर सामान्य झडप भएको थियो ।