काठमाडौं । सरकारले उमेर विवादमा तानिएका नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । पाण्डेले उमेर विवादको कारण राजीनामा दिएका हुन् भने सचिव घिमिरेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो । यद्यपि उपरथी पाण्डेले पनि व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट राजीनामा दिएका थिए ।
ऊर्जासचिव घिमिरेले व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिनाअगावै राजीनामा दिएका हुन् । घिमिरेको राजीनामापछि इन्जिनियरिङतर्फ वरिष्ठताको आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी सचिव बन्ने अवस्था आएको छ । दवाडी वरिष्ठको साथै महिला पनि भएको कारण उच्च प्राथमिकतामा परेकी हुन् । उनी सचिव नियुक्त भएको पाँच वर्षसम्म कार्य गर्न पाउनेछिन् । उमेर हदबाट अवकास पाउन भने दवाडीले २०९६ साल असार २९ गतेसम्म कुर्नुपर्छ । उनी सिँचाइ विभागको पहिलो महिला महानिर्देशक पनि हुन् ।
यद्यपि उनीसँगै सचिवका लागि गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्र र खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेको पनि नाम सिफारिस हुनेछ । तर, सचिवको सम्भावना भने दवाडीकै छ । केही दिनमै उनीहरुको नाम सचिवका लागि सिफारिस हुँदैछ । मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । उसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको मागबमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको छ ।