काठमाडौं । आर्थिक मन्दीका कारण बजार चलायमान हुन नसक्दा यसको सबैभन्दा ठूलो असर बैंकिङ क्षेत्रमा परेको छ । विगतमा अर्थतन्त्र सहज हुँदा बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर उद्योग व्यवस्था सञ्चालन गरेका र घर, घडेरी, गाडी जोडेका ग्राहकले कर्जाको साँवाब्याजबापतको किस्ता नियमितरूपमा तिर्दै आएका थिए । तर, अहिले अर्थतन्त्र पहिलेजस्तो सहज छैन । उच्च मूल्यवृद्धि हुँदा आम नागरिकको दैनिक जीवन नै कष्टकर बन्दै गएको छ ।
आम्दानीको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तु तथा सेवा अर्थात् शिक्षा र स्वास्थमा खर्च हुँदा यसको नकारात्मक असर वस्तु बजारमा परेको छ । सोही कारण पछिल्लो समय दैनिक उपभोग्य वस्तु तथा सेवाबाहेकको व्यवसायले चरम आर्थिक मन्दीको मार भोगेका छन् ।
मन्दीका कारण आम नागरिकको क्रयशक्ति घटेको छ भने महँगीका कारण बचत कमजोर भएको छ । जसले गर्दा कर्जा लिने ग्राहक तथा व्यवसायीले नियमितरूपमा कर्जाको साँवाब्याज तिर्न सकेका छन् । यही अवस्थामा बैंक तथा वित्तीय संस्थारुले ऋणीका नाममा दैनिकजसो सूचना जारी गरेर कर्जा चुक्ता गर्न आउने, धितो लिलामी गर्न, नबिकेको धितो पुन लिलामी गर्न, कालोसूचीमा राखिनेजस्ता सूचनाहरू जारी गर्नेगरेका छन् ।
मंसिर ६ गते मात्र झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाले सयौँ ऋणी उद्योगी व्यवसायीको नाममा धितो लिलामी र कर्जा चुक्ता गर्न आउनेबारेका चार दर्जनभन्दा बढी सार्वजनिक सूचना जारी गरेका थिए । त्यसको भोलिपल्ट अर्थात् यही मंसिर ७ गते पनि दुई दर्जनभन्दा बढी संस्थाले ऋणीहरूको अर्बौँ रूपैयाँबराबरको सम्पत्ति लिलाम गर्नको लागि ५२ वटा सार्वजनिक सूचना जारी गरेका छन् ।
नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, प्रोग्रेसिभ फाइनान्स, कुमारी बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक, माछापुच्छ्रे बैंकसहितका संस्थाहरूले कर्जा चुक्ता गर्न आउन र धितो लिलाम गर्नको लागि ऋणी ग्राहकको नाममा सार्वजनिक सूचना जारी गरेका छन् ।
कर्जा चुक्ता गर्न आउनको लागि सूचना जारी गरेकै भरमा ऋणी ग्राहक कर्जा तिर्न आउन सक्ने अवस्थामा छैनन् । यसैगरी धितो लिलाम गर्न सूचना जारी गरेकै भरमा अहिले धितो लिलाम हुनसक्ने अवस्था पनि छैन । यही पछिल्लो समय बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार धितो लिलाम बिक्री नहुँदा त्यो सम्पत्ति आफैँले सकार गर्नुपर्छ । कर्जाबराबरको रकम सम्भावित जोखिम व्यवस्थापनको लागि छुट्याउनु पर्छ । धितो बिक्री नभएपछि गैरबैंकिङ सम्पत्तिको नाममा सकार गरेको सम्पत्ति बैंकको स्वप्रयोजनबाहेकको अवस्थामा निश्चितसमयमा बिक्री गरेर नगदमा रूपान्तरण गर्न पर्छ । तर, यी सबै आर्थिक मन्दीकै कारण अहिले अवस्था सहज छैन । जसले गर्दा पछिल्लो समय बैंकिङ क्षेत्रमा धितो लिलामीको सूचना निकालेकै भरमा सम्पत्ति बिक्री हुने नसकेको देखिएको छ ।