काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको जानकारी गराएका हुन् ।
तर, जिप्रकाको उक्त निर्णयलाई चुनौती दिर्दै प्रसाईंले अब देशैभर प्रदर्शनीका कार्यक्रम हुने बताएका छन् । आज(शुक्रबार) तीनकुनेमा हुने भनिएको प्रसाईंको समूहको प्रदर्शन रोकिएपछि भक्तपुरस्थित निवासबाट प्रसाईंले पत्रकारहरुसँग अबदेखि देशैभरि प्रर्दशनी हुने चेतावनी दिएका हुन् ।
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्ना लागि नभएर नागरिकका लागि आन्दोलन गरेको दाबी गरे । अहिले सरकारले प्रसाईंको घरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । प्रसाईंले आफू घरमै सुरक्षाघेरामा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज(शुक्रबार) काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको थियो । हिजो बिहीबार राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज तीनकुनेमा कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको जिप्रका काठमाडौंले सूचनामार्फत स्पष्ट पारेको छ ।
प्रसाईंको महाअभियानले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको कार्यालयले जनाएको छ । ‘काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको छ, ‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।’
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले प्रसाईंले कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।
