काठमाडौँ । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा बिहीबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् ।
उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए । उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गरे ।
नेपालको कठिन एवम् दुर्गम भू–बनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढी महत्त्वपूर्ण देखिने उपप्रधानमन्त्री खड्काले बताए । उनले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गरे ।
दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको बताउँदै उपप्रधानमन्त्री खड्काले यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताए । दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको उपप्रधानमन्त्री खड्काले बताए । उनले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिए ।