काठमाडौं । तिहार र छठपछि खुलेको सेयरबजार कम्पनीहरूको खराब वित्तीय विवरणका बाबजुत सम्हालिएको छ । एक सतामा नेप्से परिसूचक आठ दशमलव ११ अंकले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम भएको छ । यसलाई कतिपयले बजार सुधारको संकेत भनेका छन् । तर, यतिलाई मात्रै बजार बढीहाल्ने आधार मान्न नसकिने विश्लेषकहरू बताउँछन् । आर्थिक मन्दी अझै सकिएको छैन । बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । ब्याजदर अझै उच्च छ । यसले सेयर कारोबारीहरूको मनबोल बढ्न सकेको छैन ।
गतसाता चार दिन सेयर कारोबार भएकामा एक दिन मंगलबार नेप्से घटेको थियो । बाँकी तीन दिन बजार बढेको थियो । सोमबारदेखि कारोबार खुलेको बजार सो दिन समान्य बढे पनि मंगलबार २३ दशमलव ८२ अंकले घट्दा लगानीकर्ता निराश भएका थिए । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लगे पनि पहिलो त्रैमासिक वित्तीय विवरणहरू सन्तोषजनक नहुँदा लगानीकर्ता निराश बनेका थिए ।
तर, मंगलबारदेखि अर्थतन्त्रका समस्या समाधान गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अर्थशास्त्रीहरूसँग छलफल चलाएपछि लगानीकर्तामा सकारात्मक आशा जागेको थियो । यसले बुधबार र बिहीबार नेप्से परिसूचक बढायो । बैठकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेपछि सेयर लगानीकर्ता केही भए पनि सक्रिय भएको देखिन्छ ।