काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठको समय परेकाले कात्तिक महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ । चाडबाडअघि श्रम स्वीकृति लिनेको संख्या उच्च रहेको भए पनि चाडपर्वको समयमा भने कमी आएको छ ।
चाडपर्वका कारण कात्तिक महिनामा लामो समय सरकारी बिदा परेकाले श्रम स्वीकिृति लिन आउने नेपालीको संख्यामा कमी आएको हो । वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएकोमा कात्तिकमा घटेको छ । कात्तिकमा नयाँ, पुराना, व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति लिनेको संख्या ४३ हजार छ सय २२ जना रहेका छन् । यसमध्ये पुरुष ३८ हजार तीन सय २२ जना र महिला पाँच हजार तीन सय जना छन् ।
चालू आर्थिक वर्षको चार महिनामा श्रम स्वीकृति लिनेको संख्या भने दुई लाख नाघेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा दुई लाख छ हजार तीन सय १६ जनाले श्रम स्वीकृति लिएका छन्, जसमध्ये एक लाख ७९ हजार सात सय ६७ जना पुरुष र २६ हजार पाँच सय ४९ जना महिला छन् ।
समग्रमा श्रम स्वीकृति लिनेको संख्या भने बढेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ५५ हजार पाँच सय ७५ जना, भदौमा ५० हजार आठ सय ८४ जना र असोजमा ५६ हजार दुई सय ३५ जना गरी कुल एक लाख ६२ हजार छ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन् । मासिकरूपमा हेर्दा श्रम स्वीकृति लिनेको संख्यामा थपघट भए पनि समग्रमा बढेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए । उनका अनुसार श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्रमा जानका लागि छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूको लागि नयाँ मुलुकहरू गन्तव्य मुलुक बन्न नसक्दा मलेसिया र खाडी मुलुक जानेको संख्या बढी रहेको विभागका अधिकरीहरूको भनाइ छ ।
मलेसिया र खाडी मुलुकको विकल्पको रूपमा युरोप र अमेरिकाका विभिन्न मुलुकहरूमा नेपाली पुगे पनि सहजता र लगानी रकम बढी हुँदा ती मुलुकमा श्रम स्वीकृतिको संख्या बढ्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि युरोप, अमेरिकालगायतका मुलुकमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या भने क्रमिकरूपमा बढ्दै गएको छ । तर, गन्तव्य मुलुक बन्न भने सकेको पाइँदैन । यसैबीच मंसिरमा खाडी मुलुक संयुक्त अरब इमिरेटसका लागि १२ हजार आठ सय ४५ जना, कतारका लागि आठ हजार चार सय ६२ जना, साउदी अरेवियाका लागि आठ हजार १४ जना र बहराइनका लागि पाँच सय चार जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, मंसिरमा कुवेतका लागि दुई हजार ९८ जना, ओमानका लागि तीन सय ६९ जना र मलेसियाका लागि पाँच हजार पाँच सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् । अर्को आकर्षक गन्तव्यमको रूपमा मानिएको दक्षिण कोरियाका लागि भने मंसिरमा दुई सय ८५ जनाले श्रम स्वीकृति लिएका छन् ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खाडी मुलुक संयुक्त अरब इमिरेटसका लागि ३७ हजार चार सय ९२ जना, कतारका लागि ३० हजार नौ सय ३८ जना, साउदी अरेवियाका लागि २९ हजार नौ सय ९२ जना र बहराइनका लागि एक हजार छ सय ४६ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, समीक्षा अवधिमा कुवेतका लागि १० हजार आठ सय ५९ जना र ओमान एक हजार ४४ जना र मलेसियाका लागि २५ हजार तीन सय ४६ जना र दक्षिण कोरियाका लागि तीन हजार सात सय ७१ जनाले श्रम स्वीकृति लिएका थिए ।
खाडी र मलेसिया नेपालीको लागि प्रमुख गन्तव्य मुलुक बने पनि त्यहाँ श्रम कानुन, मानव अधिकारको पूर्ण पालना हुन नसक्दा श्रमिकहरू आधारभूत अधिकार समेत प्राप्त गर्न सकेका छैनन् । ती मुलुकहरूमा श्रमिकहरू आफ्नो पारिश्रमिकबाट समेत वञ्चित हुनपर्ने अवस्था छ । खाडी र मलेसियामा नेपाली श्रमिकहरूले सहज वातावरणमा काम गर्ने अवस्था नरहेको श्रमविज्ञ डा. गणेश गुरुङ बताउँछन् ।
संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या साउनमा २९ हजार दुई सय २४ जना र सात हजार पाँच सय ६८ जना, भदौमा २७ हजार एक सय ७१ र सात हजार तीन सय पाँच, असोजमा ३१ हजार तीन सय ६८ र सात हजार एक सय ६५ र कात्तिकमा १८ हजार एक सय २५ र पाँच हजार सात सय ५१ छन् । श्रम स्वीकृति लिनेमध्ये विभिन्न सीपयुक्त युवाहरू हुनेगरेका छन् भने विनासीप पनि श्रम स्वीकृति दिएको पाइन्छ, जसले गर्दा सरकारले विभिन्न समस्याहरू भोग्नु परेको छ ।
विदेश जाने युवालाई दक्ष बनाएर मात्र पठाउनुपर्ने माग हुँदै आए पनि त्यसलाई बेवास्ता गर्दा सीप नभएका युवाहरू विदेश गएका छन् । जसले गर्दा तोकिएको काम, सेवा सुविधाबाट वञ्चित हुनुपर्ने समस्या छ । मंसिरमा मात्र ५१ जना उच्च सीपयुक्त, ८६ जना व्यावसायिक, चार हजार एक सय ८४ जना अर्धदक्ष, ३० हजार आठ सय ३२ जना दक्ष र आठ हजार चार सय ६९ जना अदक्ष युवाहरूले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको साउन महिनामा सो संख्या ४० हजार ५० हजार जनाभन्दा बढी थियो । जसमा ३७ जना उच्च सीपयुक्त, ८१ जना व्यावसायिक, चार हजार चार सय ६४ जना अर्धदक्ष, ३८ हजार सात सय ४५ जना दक्ष र १२ हजार दुई सय ४८ जना अदक्ष युवाहरूले श्रम स्वीकृति लिएका थिए । विज्ञ तथा सरोकारावालाहरूले श्रम स्वीकृति दिनुअघि वैदेशिक रोजगारीमा जाने इच्छुक व्यक्तिहरूले गन्तव्य मुलुकको भाषा, कानुन, कला संस्कृति र आफूले गर्ने काम, तोकिएको सेवा सुविधा, रोजगारदाताको बारेमा सम्पूर्ण जानकारी गराई सीपयुक्त बनाई पठाउन आग्रह गर्दै आएको पाइन्छ । तर, सरकारले त्यसलाई कार्यान्वयन गर्न नसक्दा ठूलो संख्यामा अदक्ष युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । कतिपय नेपाली भाषा समेत नजानेको र समस्या पर्दा विदेशस्थित नेपाली नियोगमा आफ्नो समस्या राख्न नसक्ने तथा सीप समेत नभएका युवाहरू वैदेशिक रोजगारीमा गएको पाइन्छ ।