काठमाडौं । नेपाली सेनाको प्रधानसेनापति बन्ने लाइनमा रहेका उच्च अधिकारीहरूको एकपछि अर्कोको नागरिकताको जन्ममितिमा विवाद देखिँदै गएको छ । भावी सेनापतिको लाइनमा ल्याउन सेनाका उपरथीलाई रथीमा बढुवा गरिन्छ । यसअघि रथीमा बढुवाका लागि सिफारिसमा परेका ताराध्वज पाण्डेले किर्ते गरेर नागरिकतामा जन्ममिति संशोधन गरेको उजुरी परेपछि उनले राजीनामा दिए । उनको राजीनामा यही मंसिर ७ गते विहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ ।
पाण्डेको राजीनामा स्वीकृत भएपछि साधारण सेवातर्फ रिक्त रथी पदमा बढुवाका लागि सैनिक ऐन, २०६३ को परिच्छेद ४ को दफा २१ तथा सैनिक सेवा नियमावली, २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम सोही नियमावलीको नियम ३३ को उपनियम (१)(क) बमोजिम गठित बढुवा समितिले उपरथी अशोकराज सिग्देललाई सिफारिस गरेको छ । सिग्देल सेनाको व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख पदमा कार्यरत छन् ।
सैनिक ऐन र नियमावलीअनुसार रथी पदमा बढुवाका लागि सिफारिस भएका उपरथी सिग्देलको पनि राजीनामा स्वीकृत भएका उपरथी पाण्डेको जस्तै नागरिकतामा जन्ममिति विवाद बाहिर आएको छ । सैनिक सचिव ज्योतिन्द्र महतले बढुवा सिफारिस सम्बन्धमा प्रकाशित गरेको सात दिने सूचनाले पनि सिग्देलको जन्ममितिको बारेमा विवाद रहेको स्पष्ट संकेत गरेको छ ।
सैनिकसचिव महतले सार्वजनिक गरेको गरेको बढुवा सिफारिससम्बन्धी सार्वजनिक सूचनामा बढुवा सिफारिस निर्णयउपर चित्त नबुझ्ने सैनिक व्यक्तिले सैनिक सेवा नियमावली, २०६९ को नियम ४४ मा व्यवस्था भएबमोजिम सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहितको निवेदन दिन भनेका छन् । तर, त्यसरी निवेदन दिँदा सैनिक अधिकारीहरूले आफ्नो परिचय खुलाउनै पर्ने भनिएको छ । तर, यसअघि रथी बढुवाका लागि सिफारिसमा परेर राजीनामा स्वीवकृत भइसकेका पाण्डेको हकमा भने त्यसरी उजुरी गर्नेले परिचय खुलाउनै पर्ने भनेर सूचनामा कतै उल्लेख गरिएको थिएन । अर्थात् बेनामी उजुरी गर्न पाइने थियो । त्यतिबेला सेनापतिसमक्ष परेको उजुरीमा आवश्यक पर्दा परिचय खुलाऊँला भनेर सेनापतिलाई बेनामे उजुरीकर्ताले आश्वस्त पार्ने प्रयास गरेको विवरण आर्थिक दैनिकले नै प्रकाशित गरेको थियो ।
रथी बढुवामा सिफारिस भएका पाण्डेको बारेमा बेनामे उजुरीलाई मान्यता दिएको नेपाली सेनाले सिग्देलको रथी बढुवा सिफारिसको बारेमा चित्त नबुझेमा भने परिचय खुलाएरै उजुरी गर्नुपर्ने भनी उजुरीकर्ताको वास्तविक नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख हुनैपर्ने किटान गरेको छ । वास्तविक परिचयविनाको उजुरीकर्ताको उजुरीउपर कुनै कारबाही नहुने भन्ने सेनाको सूचना सिग्देलको उक्त बढुवा सिफारिसमा लिखित उजुरी गर्न अघोषित प्रतिबन्धले सेनाभित्र जन्ममिति किर्तेका धेरै घटना छन् भन्ने संकेत गर्छ ।
‘बढुवा सिफारिस निर्णयउपर चित्त नबुझ्ने सैनिक व्यक्तिले आफ्नो वास्तविक नामथर, ठेगाना र सम्पर्क नम्बर दिएर उजुरी गर्न असम्भव छ’, नेपाली सेनाबाट अवकाशप्राप्त एक पूर्वउच्च अधिकारीले भने, ‘नेपाली सेनाको भित्री कुरा थाहा हुने व्यक्ति अर्थात् कार्यरत जुनसुकै तहका सैनिक अधिकारीलाई परिचय खोलेर उजुरी गर भन्नुको अर्थ उजुरी गर्न अघोषितरूपमा प्रतिबन्ध नै लगाउनु हो ।’ ती पूर्वसैनिक अधिकारीका अनुसार पाण्डेको बढुवा सिफारिसमा चित्त नबुझ्ने सबैसँग उजुरी माग्नु र सिग्देलको बढुवा सिफारिसमा भने सैनिक व्यक्तिले नै उजुरी गर्नुपर्ने भनेर किटान गर्दै त्यसरी उजुरी गर्नेको सबै परिचय माग्नुले सिग्देलको नागरिकतामा उल्लेख गरिएको जन्ममिति र उनको प्रमाणपत्रमा उल्लेख गरिएको जन्ममितिमा फरकपन र विवाद छ भन्ने स्पष्ट संकेत गर्छ । उनका अनुसार रथी बढुवाका लागि सिफारिसमा परेका सिग्देलको जन्ममितिको बारेमा कुनै कैफियत थिएन भने कसले र कसरी उजुरी गर्ने भनेर किटान गरेर सेनाले सूचना प्रकाशित गर्नुपर्ने थिएन ।
सामान्यतया नागरिकतामा उल्लेख हुने जन्ममिति जन्मदर्ता प्रमाणपत्र वा उसको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएअनुसारको हुनेगर्छ । स्रोतका अनुसार सिग्देलले पहिला रूपन्देहीबाट २०४० साल असोज ९ गते लिएको नागरिकतामा जन्ममिति २०२३ साल असोज ९ गते उल्लेख भएकोमा त्यसपछि २०५८ सालमा सोही नागरिकताको प्रतिलिपि जाजरकोट जिल्लाबाट लिँदा जन्ममिति संशोधन गरेको भनेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सो उजुरीको बारेमा अख्तियारले अन्तिम निर्णय गरिसकेको छैन । शैक्षिक योग्यताको प्रमाणपत्रको जन्ममिति संशोधन गरेर सिग्देलले उमेर घटाएर नागरिकता बनाएको भनेर अख्तियारमा उजुरी परेको हो । तर, उक्त उजुरी सेनाको बढुवा सिफारिस समितिमा भने परेको छैन ।
सेनापतिले अवकाश पाएपछि रथीको सेनापतिमा पदोन्नति हुनेछ । त्यही भएर रथीलाई भावी सेनापति भनिन्छ । करिब एक वर्षअघि नै उपरथीलाई रथीमा बढुवा गरेर सेनापतिको कामकाज सिकाउने चलन छ । त्यसअनुसार बढुवा गर्नुपर्नेमा नागरिकतामा जन्ममितिको विवादले सेनाको छविमाथि नै प्रश्न उठ्ने गरेको छ ।
सेनाका उच्च अधिकारीहरूको जन्ममितिको बारेमा प्रश्न उठिरहेको बेला उजुरी हाल्न पनि सेना नै चाहिने र त्यो सेनाको पनि परिचय खुल्नैपर्ने बाध्यताले सेनाभित्र हुने बेथितिका बारेमा प्रश्न उठाउन अघोषित प्रतिबन्ध सुरु भएको सिग्देलको बढुवा सिफारिस निर्णयउपर उजुरी गर्न गरिएको केही सर्तले देखाएको छ । पाण्डेविरुद्ध उजुरी गर्ने समूहको नेतृत्व गरेको आरोप सिग्देललगायतका केही सैनिक अधिकारीमाथि लागेको थियो । यद्यपि उक्त उजुरीमा कसले उजुरी ग¥यो भन्ने केही प्रस्ट थिएन । तर, उजुरी गर्न सेनाले गरेको कडाइको कारण अब उपरथी पाण्डेको जन्ममिति विवाद अख्तियारले टुंगो लगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।