काठमाडौं । १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औँ इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलनअन्तर्गत शुक्रबार भएको समापन कार्यक्रममा इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेका थिए ।
दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तनलगायतका कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ । जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदाहरू पनि घोषणापत्रमा समेटिएका छन् । सहरी पूर्वाधारसहित ऊर्जा, यातायातलगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदाहरू घोषणापत्रमा रहेका छन् ।
दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित मंसिर ५ बाट सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । प्रधानमन्त्रीसहित मन्त्रीहरू समेत सहभागी सम्मेलनमा स्वदेश तथा विदेशका गरी चार सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।
यस्तै, सम्मेलनमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई सम्मान गरेका थिए । सोअन्र्तगत सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्सन प्रालिले गोल्ड अवार्ड र जय विष्णु निर्माण सेवा प्रालिले सिल्भर अवार्ड जितेको थियो । यस्तै, बिल्डिङ कन्स्ट्रक्सन विधामा समानान्तर निर्माण सेवा प्रालिले गोल्ड र न्यु टेक्निकल इन्फ्रा प्रालिले सिल्भर अवार्ड हात पारेको छ ।
साथै, दशौं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी भएका पूर्व इफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव वीरेन्द्रराज पाण्डेलाई पनि सम्मान गरिएको थियो । यसैगरी, पाँचौँ पटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्वअध्यक्ष जीपछिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्य समिति सदस्य उज्वल गौतम, इफाप्का बोर्ड मेम्बर सुशीलकुमार श्रेष्ठसहित निर्माण व्यवसायीहरू बसन्तबहादुर चन्द, भीमबहादुर पाल, झकबहादुर गुरुङ, नवराज श्रेष्ठ र मुनेश्वर चौधरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका छन् । गत एक वर्षअघिदेखि इफाप्का अध्यक्षको जिम्मेवारीमा रहेका सिंहले शुक्रबार आफ्नो जिम्मेवारी लुलाई हस्तान्तरण गरेका हुन् ।
सिंहको कार्यकालमा इफाप्का महासचिवको भूमिका वीरेन्द्रराज पाण्डेले निर्वाह गरेका थिए भने नेपालका सुशीलकुमार श्रेष्ठ बोर्ड मेम्बरको भूमिकामा रहेका थिए । अब सिंगापुरका लुलाई इफाप्का अध्यक्षको रूपमा निवर्तमान अध्यक्ष सिंहले सपथ गराएसँगै ४७ औँ इफाप्का सन् २०२५ को अप्रिलमा सिंगापुमा हुने भएको छ । नेपालले यसअघि सन् १९९९ मा ३० औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।