काठमाडौँ । २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
आइतबार बाुलवाटारमा पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई सम्बोधन गर्दै उनले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाए ।
स्थापनाको झन्डै तीन दशकमा विश्वविद्यालयले उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा प्रधानमन्त्रीले बधाई दिदैं विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे ।
विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कूलपतिसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो ।