काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित अनिल आचार्य र रमेश भुषालको एआर टिम्वा सिरक कारखानामा आगलागी भएको छ । कारखानामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कपास फिट्ने मेसिन दुई थानलगायत विभिन्न कपडाहरू जलेर सात लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, ललितपुर महानगरपालिका–१४ नख्खुडोलस्थित काभ्रे बथानचोक गाउँपालिका–४ घर भएकी ३६ वर्षीया निर्मला तामाङको तरकारी पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब दुई लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी, कैलालीस्थित लम्कीचुहा नगरपालिका–८ बचैला बस्ने ६५ वर्षीय लछिराम बिष्टको घर नजिक राखेको परालमा शनिबार दिउँसो आगलागी भई नजिकै रहेको गोठ र दिपक बिकको घरमा समेत आगलागी हुँदा गोठ पूर्णरूपमा र घर आंशिकरूपमा जलेर करिब छ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।