काठमाडौं । नेपाल राष्ट्र बैकले झण्डै तीन अर्ब रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै दुई अर्ब ८६ करोड ५३ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको हो । संस्थागत निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरूमा गरिने यस्तो लगानी विभिन्न कोषअन्तर्गतको रकम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने रकमको लागि बैंक तथा वित्तीय संस्थाहरूले यही मंसिर १३ गतेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिनुपर्नेछ । रकम लगानीको अवधि तीन सय ६५ दिन अर्थात् २०८० पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्म तोकिएको छ । लगानीको लागि छुट्याएको कुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि दुई अर्ब २९ करोड २२ लाख, विकास बैंकहरूको लागि ४२ करोड ९८ लाख र फाइनान्स कम्पनीहरूको लागि १४ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।