काठमाडौं । आर्थिक वर्ष २०७९/८० को नाफाबाट अहिलेसम्म १० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १० वटाले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये अधिकांशले नगद लाभांशमा जोड दिएका छन् ।
सबैभन्दा बढी लाभांश एनआईसी एसिया बैंकले घोषणा गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५२ प्रतिशत नगदसहित कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
एभरेष्ट बैंकले पनि गत आर्थिक वर्षको खुद मुनाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनससहित कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बहुराष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पनि गत आर्थिक वर्षको खुद मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १३ दशमलव तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव सात प्रतिशत नगदसहित कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सिद्धार्थ बैंकले भने गत आर्थिक वर्षको खुद मुनाफाबाट चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमा बैंकले पनि पाँच दशमलव सात प्रतिशत नगद र नौ प्रतिशत बोनस सेयरसहित कुल १४ दशमलव सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंकले भने आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयरसहित कुल नौ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल एसबीआई बैंकले छ दशमलव आठ प्रतिशत नगद लाभांश र तीन दशमलव ७५ प्रतिशत बोनस सेयरसहित कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नबिल बैंकले भने ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।