दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले दैनिक उपभोग गरेर पनि नियमित महसुल नबुझाउने उपभोक्ताहरूको लाइन धमाधम काट्न थालेको छ । वितरण केन्द्रले पछिल्लो तीन महिनामा मात्रै एक सय ८८ घरधुरी तथा केही सरकारी कार्यालयको लाइन काटिदिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर नेत्रमणि न्यौपानेले बताए ।
सुरुमा सबैभन्दा बढी महसुलको बक्यौता रकम बुझाउन बाँकी रहेका ग्राहकहरूको लाइन काटिएको र विस्तारै रकम बुझाउन अटेर गर्ने सबैको काटिदिने न्यौपानेले जानकारी दिए । यस्तै, वितरण केन्द्रले नियमितरूपमा महसुल बुझाउन ग्राहकलाई आग्रह गरेको छ । यस्तै, वितरण केन्द्रले पुराना काठका पुललाई हटाएर फलामे पोल राख्ने कार्यलाई पनि निरन्तरता दिइरहेको जनाएको छ । जिल्लाभर करिब एक हजार नयाँ पोल राख्ने लक्ष्य राखिएको न्यौपानेले जानकारी दिए । हालसम्म करिब चार सय काठको पुराना पुल हटाएर नयाँ फलामे पोल राखिएको छ । त्यस्तै, प्राधिकरणले जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाउँपालिकाका एक हजार तीन सय ४६ जना नयाँ ग्राहकलाई विद्युत् पहुँचमा जोडेको छ ।
यसैगरी, प्राधिकरणले दोलखाको बैतेश्वर नाम्दुमा निर्माणाधीन सबस्टेसनको काम नसकिँदा विद्युत् आपूर्तिमा केही समस्या उत्पन्न हुने गरेको जनाएको छ । अहिले बैतेश्वर हुँदै जिरी पठाइएको लाइन बैतेश्वरमा समस्या आउँदा जिरीमा बत्ति जाने तथा जिरीमा समस्या आउँदा बैतेश्वर पनि विद्युत् अवरुद्ध हुने समस्या रहेको छ । यसलाई सुधार गर्न सो सबस्टेसनबाटै दोहोरो लाइन पठाउनु पर्ने भए पनि निर्माण कम्पनी काम नगर्दा नाम्दु सबस्टेसन सञ्चालनमा आउन सकेको छैन । ठेकेदारको ढिलासुस्तीले उक्त सवस्टेसन सञ्चालनमा आउन नसकेकोपछि नियमित विद्युत् आपूर्तिमा केही समस्या देखिएको वितरण केन्द्रले जनाएको छ ।