काठमाडौं । घरसँग सम्बन्धित विभिन्न जग खन्नेदेखि घर निर्माण र समस्या समाधान सेवाहरू दिँदै आएको स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले समस्यारहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनुपूर्व के–कस्ता कुरामा ध्यान दिने ? आवश्यक कागजात र प्रक्रियाहरू समेतको विस्तृत जानकारी दिने गरी कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निःशुल्क परामर्श कार्यक्रमको आयोजन गर्न लागिएको हो । हरेक हप्ताको शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म कम्पनीको मुख्य कार्यालयमा निःशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सीईओ रमेश तिमिल्सिनाले बताए । कार्यक्रममार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्यारहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिए ।
घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरू, निर्माणका क्रममा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, आफ्नो लगानी समेत खेर जान सक्ने र निर्माणपश्चात् सहजै बिक्री समेत नहुने गरेको उनको भनाइ छ । यसका लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए । जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदिजस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु आवश्यक रहेको उनले जानकारी दिए । उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरूले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए ।